नेपाली क्रिकेट टोलीको भर्चुअल बिदाई

काठमाण्डु टुडे २०७८ माघ २५ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, २५ माघ–  ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाई गरिएको हो ।

मंगलबार भर्चुअल माध्यमद्धारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई बिदाई गरेका हुन् । कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमद्धारा मंगलबार बिहान बिदाई कार्यक्रम आयोजना गरेको हो । विश्वकपमा छनोटकालागि हुने खेलका लागि नेपाली टोली मंगलबार राति ८:३० बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ ।

ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी बिच खेल हुने भएको छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले विश्वकपकालागि ग्लोबल छनोट भएर आउन शुभकामना दिए । नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगती गरेको भन्दै मन्त्री अथकले यस पटक विश्वकपका लागि नेपाली टोली छनौट हुनेमा आफु विश्वस्त रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us