प्रचण्ड र माधव नेपाललाई देउवाको धम्कीः एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्छ

काठमाण्डु टुडे २०७८ माघ १७ गते ७:४४ मा प्रकाशित

काठमाण्डु, १७ माघ– अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ ।

गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को चालु अधिवेशनबाटै एमसीसी पास गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् ।

प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको स्रोतको भनाइ छ । सत्ता गठबन्धनमा आबद्ध चार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अहिलेकै अवस्थामा एमसीसी पारित गन नहुने पक्षमा छन् ।

प्रधानमन्त्री भएपछि देउवाले अहिले तेस्रोपटक एमसीसी पारित गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । सत्ता गठबन्धनकै दलहरूका असहयोगका कारण यसअघि उनी एमसीसी अगाडि बढाउन असफल भएका थिए ।

देउवाले एमसीसीको विषयमा सहमति जुटाउन आइतबार एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादीका नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेको देउवाको सचिवालयका एक सदस्यले बताए ।  नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us