गणतन्त्रको माध्यमद्वारा जनआकांक्षा पूरा गर्नु नै शहीदप्रति सम्मानः राष्ट्रपति

काठमाण्डु टुडे २०७८ माघ १६ गते ८:२६ मा प्रकाशित

काठमाण्डु, १६ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएकी छन् ।
शहीद दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मुलुकका लागि प्राण आहुति गर्ने शहीदहरुको सपना साकार पार्न सम्पूर्ण राजनीतिक दल, आमजनसमुदाय र सम्बद्ध सबैमा अनुरोध गरेकी छन् ।
राष्ट्रपतिले नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ–आफ्ना तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न यस दिवसले थप प्रेरणा प्रदान गर्ने अपेक्षा राष्ट्रपतिको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us