
काठमाण्डु, १५ माघ– कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ । तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन् । सरकारकै स्वास्थ्य मापदण्डको उल्लंघन गरे।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिएका हुन् । उक्त विवाहमा कुनै स्वास्थ्य मापदण्ड कायम थिएन । पाँच हजारभन्दा बढीलाई भेला गरेर भोजसहितको विवाह मन्त्री साहले आयोजना गरे ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि गत माघ २ गते सूचना जारी गर्दै बैठक, सभा समारोहमा रोक लगाएको थियो । तर, विवाहको स्वयंवरमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र पनि उपस्थित भए । स्वयंवरपछिको भोजमा मुख्यमन्त्री लालबाबु राउत सहभागी भए ।