नयाँ जीवन पाएर आएको छुः पुन

काठमाण्डु टुडे २०७८ माघ १० गते २१:२२ मा प्रकाशित

काठमाण्डु, १० माघ– नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्त चीनमा उपचार गराएर सोमबार स्वदेश फर्किएका छन् ।

पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ पुन हिमालय एयरलाइन्सको कार्गो जहाजमार्फत स्वदेश फर्किएका हुन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो ।

वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि उनलाई १० मंसिरमा चीन लगिएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले आफूले नयाँ जीवन पाएको बताए । आफ्नो उपचारका सहयोग गर्ने तथा पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरु, परराष्ट्र मन्त्रालय, चीन सरकारलाई धन्यवाद दिए ।

यस्तै स्वास्थ्यभालको कामना गर्ने सबैलाई उनले सम्झिए । फरक प्रसंगमा पुनले आफू जहाज चार्टर गरेर नभई कार्गो जहाजमा आएको उल्लेख गरे । ‘हप्तामा दुईपटक सामान लिन कार्गो जहाज जाँदो रहेछ’, पुनले भने, ‘त्यसैमा आएको हुँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us