काठमाण्डु, ४ माघ– कोभिड–१९ सङ्क्रमण जोखिमकाकारण मुलुकका अरु विधाजस्तै खेलकुद क्षेत्रको विकास र विस्तार पनि प्रभावित हुने सङ्केत देखिएको छ । खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन, तालिम वा अभ्यास, पूर्वाधार निर्माण र प्रतियोगिता अनिवार्य शर्त रहेकामा कोरोना सङ्क्रमणका कारण ती सबै क्रियाकलाप सुस्त र प्रभावित हुन पुगेका छन् ।
पूर्वाधार निर्माण नै समयमा पूरा भएन भने खेल क्षेत्रको विकासमा अवरोध खडा हुन्छ । खेलाडी उत्पादनसँगै अभ्यास गर्ने स्थल आवश्यक पर्छ । पूर्वाधार भएन भने खेलाडीको क्षमता अभिवृद्धि हुन्न । मुलुकको खेल क्षेत्रको विकासका लागि रु एक अर्ब ५२ करोड पूर्वाधार कार्यक्रमका लागि बजेट विनियोजन हुँदै आएको छ । अघिल्लो वर्षदेखि सरकारले ‘एक पालिका, एक खेलमैदान’ अवधारणा अघि सार्दै कार्यान्वयन अघि बढाएको छ । उक्त कार्यक्रम मुलुकमा १४४ पालिकामा विस्तार भइसकेको छ । यस वर्षभित्र उक्त कार्यक्रम कम्तीमा १६८ स्थानीय तहमा पु¥याउने मन्त्रालयले अठोट गरेको छ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८÷७९ मा रु २५ करोड बजेट विनियोजन छ ।
स्थानीय, प्रदेश तथा राष्ट्रियस्तरमा सुविधासम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । समुदायदेखि नै खेलकुदको विकास र विस्तार गरी शारीरिक र मानसिकरूपमा स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्दै अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्न खेलकुद पूर्वाधार विकास, खेलकुद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने विषय बजेटमार्फत घोषणा गरिएको थियो ।
नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा करिब २५ देखि ३० खेल विधामा पदक प्राप्त गर्ने सम्भावना राख्दै आएको छ । मुलुकमा खेलकुद क्षेत्रका विकास र विस्तारमा करिब २०० को सङ्ख्यामा विषयगत खेल सङ्घ क्रियाशील छन् । त्यस्ता सङ्घले बेलाबखतमा देशभित्र खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडीको क्षमता अभिवृद्धिका लागि वातावरण तयार गरी प्रोत्साहनसमेत गर्दै आएका छन् ।
मन्त्रालयले विधागत खेलकुदका सङ्घमा सुशासन प्रवद्र्धन र लोकतान्त्रिक विधिबाट पदाधिकारी छनोट कार्यलाई सघाउँदै आएको छ । खेलाडी उत्पादन, अभ्यास र पूर्वाधार निर्माणलाई मन्त्रालयले प्राथमिकतामा राखेर संयोजनकारी र सहजीकरण गर्दै आएको छ । मन्त्रालयले पछिल्लो दिनमा खेलकुद क्षेत्रमा प्रतिबन्धित औषधिको प्रयोग (एण्टिडोपिङ्ग)लाई निस्तेज तुल्याउन खेलाडी र प्रशिक्षकलाई सचेतनासमेत प्रदान गर्दै आएको छ ।