दोस्रो प्रयासमा आर्मीलाई टाइगर कपको उपाधि

काठमाण्डु टुडे २०७८ माघ १ गते १७:४० मा प्रकाशित

काठमाण्डु, १ माघ–  हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले शनिबार टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ ।

पोखरामा सम्पन्न फाइनल खेलमा तीन भारतीय खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपाललाई २५-१८, २४-२६, २५-१८,२५-१९  को सेटमा पराजित गर्दै आर्मीले दोस्रो अवसरमा उपाधि चुमेको हो ।

हेल्प नेपाललाई भारतीय राष्ट्रिय खेलाडी अमित कुमार, विनीत कुमार र अप्पभु मुथुसामिसहित नेपाली  राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा परेका धिरज बस्नेत तथा घरेलु प्रतियोगिताका उदयमान खेलाडी नवीन महतोको साथ थियो ।

यता, आर्मीमा मान बहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, धन बहादुर भट्ट क्षेत्री, हरि अधिकारी लगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि आर्मी उपाधि जित्न सफल भयो । गत वर्ष आर्मी गण्डकी प्रदेशसँग पराजित भएको थियो ।

शनिबार नै सम्पन्न महिलातर्फको फाइनल खेलमा आर्मीलाई एपीएफले २५-२३, २५-१५, २५-२० को सेटमा सहजै पराजित गर्दै उपाधि जित्यो ।

प्रतियोगिताको पुरुषतर्फको विजेता आर्मी र महिलातर्फको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले समान तीन लाख प्राप्त गर्नेछन् । यस्तै, उपविजेता टोली हेल्प नेपाल र महिलातर्फको आर्मीले समान एक लाख ५० हजार प्राप्त गर्नेछन्  ।

६ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ साबिक विजेता गण्डकी प्रदेशसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) र हेल्प नेपाल स्पोर्टस क्लब र महिलातर्फ साबिक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ, न्यू डाइमन्ड एकेडेमी र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us