लिपुलेकमा भारतले एकतर्फी रूपमा सडक निर्माण नेपाली सार्वभौमिकताको विरुद्धः राप्रपा

काठमाण्डु टुडे २०७८ माघ १ गते १५:०२ मा प्रकाशित

काठमाण्डु, १ माघ– नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निमार्ण गरिरहेको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति प्रकट गरेको छ । कालापानी लिपुलेक नेपाली भूमि भएको बताउँदै पार्टीले त्यहाँ भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने राप्रपाले माग पनि गरेको छ ।

महामन्त्री भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ । कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।’

विज्ञप्तिमा भनिएको छ– ‘नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँग कूटनैतिक र राजनीतिक तहमा संवाद गरी अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us