समाजवादीनिकट अनेरास्ववियुद्वारा सुनील शर्मालाई कालोमोसो

काठमाण्डु टुडे २०७८ पुष ३० गते १७:४९ मा प्रकाशित

काठमाण्डु, ३० पुस– नेकपा एकीकृत समाजवादी सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले काठमाण्डु मेडिकल कलेज (केएमसी) का सञ्चालक सुनील शर्मालाई कालोमोसो लगाएका छन् ।

एमबीबीएस अध्यययनरत विद्यार्थीसँग बढी शुल्क लिएको भन्दै अनेरास्ववियुका कार्यकर्ताले शर्मालाई कालोमोसो दले । शर्मा केएमसीका कार्यकारी अध्यक्ष हुन् । शुक्रबार विवाद समाधान गर्न शिक्षा मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकबाट बाहिरिने क्रममा शर्मामाथि विद्यार्थीले कालोमोसो दलेका थिए ।

मन्त्रालयमा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, मेडिकल कलेज सञ्चालक, विद्यार्थी र अभिभावकहरुबीच छलफल थियो । सो संगठनका अध्यक्ष सुदेश पराजुलीले मेडिकल माफियामाथि कारबाही गर्ने संगठनको नीतिअनुसार शर्मालाई कालोमोसो लगाइएको बताए ।

नोबेल, केएमसी र पोखराको मणिपाल कलेजले होस्टेल र परीक्षालगायत शीर्षकमा अतिरिक्त शुल्क लिएको भन्दै विभिन्न दलनिकट सात विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका छन् ।

यसैबीच शर्मामाथि कालोमोसो दल्ने क्रममा प्रहरीले अनेरास्ववियूका उप–महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई पक्राउ गरेको छ । अध्यक्ष पराजुलीले पक्राउ परेका श्रेष्ठ र पुनलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us