
काठमाण्डु, २४ मंसिर– १४औँ महाधिवेशन उद्घाटनको केहि घण्टाअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा आन्तरिक परामर्शमा छन् ।
पदाधिकारीमा उम्मेदवारका आकांक्षी बढी भएपछि सकस भइरहेका बेला देउवाले आफू पक्षीय पदाधिकारी र नेताहरूसँग आन्तरिक परामर्श गरिरहेका हुन् ।
संस्थापन पक्षबाट देउवा सभापतिका उम्मेदवार भए पनि सबैभन्दा बढी चासो महामन्त्रीमा छ । महामन्त्रीमा बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, एनपी साउँद लगायतले दाबी गरिरहेका छन् ।
नेता कृष्ण सिटौला समूहले पनि संस्थापन पक्षतिर झुकाव राखेकाले उक्त समूहलाई मिलाउनुपर्ने बाध्यता देउवालाई छ । सिटौलाले उपसभापतिसहितका पद मागिरहेका छन् । उक्त समूहबाट प्रदीप पौडेल पनि महामन्त्रीका आकांक्षी हुन् । त्यस्तै, सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न नसकेको संस्थापन इतरको पनि आज बैठक बस्दैछ ।