काँग्रेस सहमहामन्त्रीमा दुई दर्जन आकांक्षी

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते ७:२२ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर–  नेपाली काँग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्  यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन् ।

यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्। अहिलेसम्मको अवस्था हेर्दा यस पदमा ४५–६० वर्ष उमेर समूहका नेताहरूले दाबी पेस गरेको देखिएको छ ।

आकांक्षीको व्यवस्थापन गर्न सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सहमहामन्त्रीको संख्या अझै थप्ने पक्षमा देखिएको छ। तर नेता रामचन्द्र पौडेल यसको विपक्षमा देखिँदा प्रस्ताव अघि बढ्न सकेको छैन ।

देउवा नेता पौडेलसहित संस्थापन इतर पक्षलाई विश्वासमा लिएर खुलातर्फ केही सहमहामन्त्री पद थप गर्ने रणनीतिमा छन्। तर महाधिवेशनको मिति नजिकिएकाले यो चाहना पूरा हुने सम्भावना कमजोर बन्दै गएको छ ।
सभापतिमा साझा उम्मेदवार बनाउन दबाब खेप्दै आएको संस्थापन इतर समूह पनि सहमहामन्त्रीको पद थप हुँदा नेताको व्यवस्थापनमा सहज हुने बुझाइमा छ । नेता पौडेल भने जिम्मेवारीविहीन पदमात्र थप गर्ने कुराले संगठन सञ्चालनमा समस्या आउने भन्दै विपक्षमा देखिएका छन् ।
सहमहामन्त्रीको पद थप गर्न सके संस्थापन पक्षबाट महामन्त्रीका आकांक्षी ज्ञानेन्द्रबहादुर कार्की,एनपी साउद,रमेश लेखक, विश्वप्रकाश शर्मासहितका नेतालाई उक्त पदमा व्यवस्थापन गरेर टिम बनाउने देउवाको रणनीति रहेको स्रोतको दाबी छ । नागरकि दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us