नेप्सेको उच्च गिरावट कायमै

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते १५:५९ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– साताको दोस्रो दिन आज सोमबार पनि नेप्सेको उच्च गिरावट आएको छ । अघिल्लो दिन ८० अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन २१ दशमलव ५१ अंकले घटेर २६ सय २९ दशमलव ९७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९२ अंकले घटेर चार सय ९५ दशमलव ५३ अंकमा पुगेको छ ।

दुई सय २८ वटा कम्पनीहरुको ५१ हजार एक सय ३८ पटकको कारोबारमा ८२ लाख २५ हजार आठ सय २२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ८९ लाख ३७ हजार एक सय ३३ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा जलविद्युुत र सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् ।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक १० दशमलव ८९ अंकले घटेर १७ सय ६७ दशमलव ९३ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ७६ दशमलव ६८ अंकले घटेर ११ हजार छ सय ६५ दशमलव ८० अंकमा झरेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि एक सय १७ दशमलव चार अंकले घटेर १४ हजार ४१ दशमलव ८७ अंकमा झरेकोमा विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज ङादी ग्रुप पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर तीन सय १० रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा आईसीएफसी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य भने १० प्रतिशतले घटेर आठ सय ३८ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज महालक्ष्मी विकास बैंकको भने प्रतिकित्ता छ सय १९ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा ६१ करोड चार लाख ७५ हजार तीन सय ४० रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us