ईपीएलको उपाधि चितवनलाई

पोखरा राइनोज ४ विकेटले पराजित

काठमाण्डु टुडे २०७८ असोज २३ गते १६:२६ मा प्रकाशित

काठमाण्डु, २३ असोज– चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो ।

चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ । उपविजेता बनेको पोखराले १५ लाखमा चित्त बुझाएको छ । पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा भिम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै दिलिप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । मोहमद साहजदले ११ रन जोड्दा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहदा सेकुग्गे प्रसन्न १ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १११ रन बनाएको थियो ।

पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचार्ड लेभीले २६ रन जोड्दा विपिन रावलले १७ रन बनाए । कप्तान विनोद भण्डारीले २२ रन बनाए । किशोर महतो १ रनमा अविजित रहे । विवेक यादव ४, रित गौतम २, सहन अर्चाचिगे २ बिक्रम सोब १ रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए ।

पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । उनले मात्र २० रन खर्चिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २र२ विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा १/१ विकेट रह्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us