३२ अंकले घट्यो सेयर बजार, ३ अर्ब ७० करोड रुपैयाँको मात्र काराेबार

काठमाण्डु टुडे २०७८ असोज १४ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, १४ असोज– विहीबार नेप्से पुनः घटेको छ । अघिल्लो दिन ५० अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने ३२ दशमलव ५१ अंकले घटेर २६ सय ३३ दशमलव ४२ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४१ अंकले घटेर चार सय ९७ दशमलव पाँच अंकमा पुगेको छ । दुई सय २५ वटा कम्पनीहरुको ४९ हजार आठ सय ३५ पटकको कारोबारमा ७३ लाख २१ हजार १४ कित्ता सेयर खरिद बिक्री हुँदा कुल सेयर कारोबार रकम तीन अर्ब ७० करोड २९ हजार पाँच सय सात रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा तीनवटा समूहको सूचक बढेर बाँकी १० वटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सुचक २० दशमलव छ अंकले घटेर १८ सय ६९ दशमलव ४० अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि ८२ दशमलव ५१ अंकले घटेर २८ सय १८ दशमलव ६४ अंकमा झरेको छ ।

ट्रेडिङ समूहको सूचक भने एक सय १८ दशमलव १३ अंकले बढेर तीन हजार एक सय २८ दशमलव १९ अंकमा पुग्दा अन्य र सामूहिक लगानी कोष समूहरुको सूचक पनि बढेका छन् ।

आज मनकामना स्मार्ट लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई हजार एक सय १९ रुपैयाँ ७० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा गुडविल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ८६ प्रतिशतले घटेर छ सय ११ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल बैंकको प्रतिकित्ता चार सय ९२ रुपैयाँ अन्तिम मूल्यमा १२ कारोड ७७ हजार ७८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि एक सय चार दशमलव ५७ अंकले घटेर ११ हजार पाँच सय ३५ दशमलव २६ अंकमा झरेकोमा विकास बैंक, फाइनान्स, जीवन बिमा, होटेल तथा पर्यटन, उत्पादनमुलक, लघुुवित्त र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us