काठमाण्डु, १३ असोज– बुधबार सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ। अघिल्लो दिन ७० अंकले घटेको नेप्से आज बुधबार भने ५० दशमलव ५८ अंकले बढेर दुई हजार छ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५८ अंकले बढेर पाँच सय तीन दशमलव ४६ अंकमा पुगेको छ । आज दुई सय २९ वटा कम्पनीहरुको ६३ हजार नौ सय १६ पटकको कारोबारमा ९८ लाख ९४ हजार चार सय ७८ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम पाँच अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोबार भएकोमा आज १३ वटै समूहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २० दशमलव २९ अंकले बढेर १८ सय ९० अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ५५ दशमलव ६६ अंकले बढेर ११ हजार छ सय ३९ दशमलव ८२ अंकमा चढेको छ ।
जीवन बिमा समूहको सूचक पनि आज दुई सय १५ दशमलव ३८ अंकले बढेर १४ हजार छ सय ६८ दशमलव ५१ अंकमा चढेको छ । यीबाहेक विकास बैंक, जलविद्युत फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।
आज ग्रिन डेभलपमेन्ट बैंकको प्र्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ४८ रुपैयाँ ४० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा मेगा बैंकको प्रतिकित्ता सेयर मूल्य भने तीन दशमलव ९२ प्रतिशतले घटेर तीन सय ४२ रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता चार सय ५९ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा २२ करोड ६७ लाख ५४ हजार तीन सय ७२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरु मध्ये कारोबार रकमका दृष्टिले सबैभन्दा बढी हो ।