पोलमा टाँगिएका तारमध्ये काम लाग्ने तार ५ प्रतिशत मात्र छन्ः कुलमान घिसिङ

काठमाण्डु टुडे २०७८ असोज १२ गते १७:५८ मा प्रकाशित

काठमाण्डु, १२ असोज – विद्युतका पोलमा राखिएको तारले शहरको सुन्दरता हराएकाले त्यसलाई व्यवस्थित गर्न पोल भाडा बढाएको विद्युत प्राधिकरणले प्रष्ट्याएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शहरको सुन्दरता फर्काउन पोल भाडा बढाएको बताए ।

उनले भने, ‘पोल भाडा नबढाउँदा इन्टरनेट सेवा प्रदायकमार्फत प्राधिकरणले २५ करोड उठाउँदै आएको थियो । अब बढेर ५० करोड होला ।

तर, समग्रमा यो प्राधिकरणका लागि ठूलो रकम होइन ।’ पोल भाडा वृद्धि गरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सामूहिक तार राख्न बाध्य हुने घिसिङले उल्लेख गरे ।

‘पोलमा टाँगिएका तारमध्ये काम लाग्ने तार ५ प्रतिशत मात्र छन् । बाँकी सबै तार बिग्रेका र काम नलाग्ने छन्,’ घिसिङले भने, ‘ती तारलाई काट्न बाध्य बनाउनकै लागि पोल भाडा बढाइएको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us