कैलालीको नवजीवन अस्पतालमा सुत्केरीको मृत्यु

रासस २०७८ असोज १० गते १७:२८ मा प्रकाशित

कैलाली, १० असोज –  कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि सो अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएकोमा आज बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

अत्याधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु भएको अस्पतालले जनाएको छ । कल्पनाले जन्म दिएको बच्चालाई सो अस्पतालकै एनआइसीयुमा राखिएको जनाइएको छ । तर मृतकका आफन्तले भने डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेष्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us