अब झुत्रा नोटबाट ब्रिकेट

रासस २०७८ भदौ १५ गते १४:१३ मा प्रकाशित

काठमाण्डु, १५ भदौ–  नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ ।  चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।

सो देशको एक कम्पनीसँग सन् २०२० भएको सम्झौताअनुसार आठ मेशिन ल्याउने सहमतिअनुसार हालै आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाडौँ, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागमा प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार सो मेशिनबाट काठमाडौँमा ब्रिकेट उत्पादन गर्न सुरु भइसकेको छ भने आजै नेपालगञ्जबाट पनि थालनी गरिनेछ र छिट्टै अन्य दुई स्थानबाट पनि उत्पादन हुनेछ ।

“आगामी असोजसम्म बाँकी चारवटा मेशिन पनि झिकाई जनकपुर, पोखरा, भैरहवा र धनगढीबाट उत्पादन सुरु हुनेछ”, उनले भने । पहिलोपटक जलाइएका चार सय बन्डल नोटबाट करिब चार सय केजी खरानी निस्केको थियो । नोटको आकारअनुसार खरानीको परिणाम फरक पर्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us