काठमाण्डु, २८ साउन नेप्सेको उच्च वृद्धिले साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन शून्य दशमलव ९४ अंकले बढेको नेप्से आज १६ दशमलव ४१ अंकले बढेर तीन हजार एक सय ७९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ४६ अंकले बढेर पाँच सय ९१ दशमलव १६ अंकमा पुगेको छ ।
आज दुई सय २५ वटा कम्पनीहरुको एक लाख ५४ हजार छ सय ६० पटकको कारोबारमा तीन करोड ६६ लाख आठ हजार चार सय ६१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार हुँदा सातवटा समूहको सूचक बढेर छवटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ९९ अंकले बढेर दुई हजार एक सय २४ दशमलव ९४ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि तीन सय ४४ दशमलव ४१ अंकले बढेर पाँच हजार सात सय ४९ दसमलव २५ अंकमा चढेको छ ।
जीवन बिमा समूहको सूचक पनि ३१ दशमलव पाँच अंकले बढेर १८ हजार दुई सय १३ दशमलव ३७ अंकमा चढेकोमा फाइनान्स, उत्पादनमुलक, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।