पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाण्डु टुडे २०७८ साउन १९ गते ८:०४ मा प्रकाशित

काठमाण्डु, १९ साउन– नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

पारसले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास निर्णय लिएको छु’, पारसले लेखेका छन्, ‘नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धी हो ।’ पारसले सन् २००२ मा १५ वर्ष हुँदै सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु, साथी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, आफ्नो परिवार र साथीहरुप्रति सदैव ऋणी रहने पारसको भनाइ छ ।

क्रिकेटरका रुपमा आफूले मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव भूमिका निर्वाह गरेको स्मरण पारसले गरेका छन् । आफ्नो जीवनको सपना भनेकै नेपाली क्रिकेटको उन्नती भएको उल्लेख गर्दै उनले त्यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाको संयुक्त प्रयासमा जोड दिए । इमान्दारितापूर्वक काम गरिए नेपाली क्रिकेटलाई अवश्य नयाँ उचाइमा पु¥याउन सकिने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा टुंगिए पनि नेपाली क्रिकेटका लागि आफ्नो सपना अझै बामे सर्दै गरेको पारसले उल्लेख गरे । मैदानभित्रका दुई दशक जीवन रहुञ्जेल मीठो यादका रुपमा रहने पारसले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us