१८ अंकले नेप्से बढ्दा ११ अर्ब ११ करोडको सेयर किनबेच

काठमाण्डु टुडे २०७८ साउन ७ गते १६:०२ मा प्रकाशित

काठमाण्डु, ७ साउन– साताको अन्तिम दिन आज बिहीबार नेप्से तीन हजार अंकमा पुगेर रोकिएको छ । नेप्से आज १८ दशमलव ७५ अंकले बढेर तीन हजार चार दशमलव ३१ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव छ अंकले बढेर पाँच सय ६२ दशमलव २४ अंकमा पुगेको छ ।

दुई सय २२ वटा कम्पनीहरुको एक लाख १४ हजार सात सय ७२ पटकको कारोबारमा आज पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ११ करोड ४१ लाख २१ हजार छ सय १६ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा पाँचवटा समूहको सूचक बढेका छन् भने आठवटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ३५ दशमलव ६४ अंकले बढेर दुई हजार एक सय दुुई दशमलव ९५ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि ३८ दशमलव सात अंकले बढेर १४ हजार चार सय २० दशमलव ९८ अंकमा पुगेको छ ।

यीबाहेक जलविद्युत, फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेको छ । विकास बैंक समूहको सूचक भने १४ दशमलव ९३ अंकले घटेर चार हजार सात सय ७५ दशमलव ६५ अंकमा झरेकोमा जीवन बिमा, लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामूहिक लगानी कोष समूहरुको सूचक पनि घटेका छन् ।

यसैगरी आज कृषि विकास बैंकको प्रतिकित्ता पाँच सय ८८ रुपैयाँ अन्तिम मूल्यमा ४६ करोड २१ लाख ४७ हजार दुई सय ४० रुपैयाँ ७० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

आज लक्ष्मी उन्नती कोषको प्रतियुनिट सेयर मूल्य १० दशमलव चार प्रतिशतले बढेर १५ रुपैयाँ ६८ पैसामा कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने चार दशमलव ४५ प्रतिशतले घटेर चार सय ७२ रुपैयाँमा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us