रसुवागढी भन्सारले उठायो साढे तीन अर्ब राजस्व

रासस २०७८ साउन १ गते १३:५२ मा प्रकाशित

रसुवा, १ साउन–  नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोबारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल रु एक अर्ब ७३ करोड १९ लाख ४७ हजार राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो ।

आयात भएका सामग्रीको मूल्याङ्कनका आधारमा मूल्य अभिवृद्धिकर, अन्त शुल्क एवं भन्सार शुल्कका साथै अन्य विविध शीर्षकको असुलीबाट उक्त राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । नेपालबाट चीनतर्फ जाने सामग्रीको निर्यात शून्य रहेको छ । चीनतर्फबाट भने स्याउ, ओखर, लसुन, अदुवा, जुत्ताचप्पल, तयारी पोशाक, स्वास्थ्य सामग्री, विद्युतीय सामग्री, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, एम्बुलेन्सलगायत केही सवारी साधन समेतका विविध सामग्री आयात हुने गरेको बताइएको छ ।

विगत वर्ष २०७६÷७७ मा भन्सार शुल्क बापतको राजस्व रु आठ अर्ब २७ करोड ७७ लाख असुली भएको थियो । गत वर्ष भने बढ्दो कोरोना सङ्क्रमणका कारण नेपाल–चीनबीच रसुवागढीको मितेरी पुलबाट केरुङका लागि मालबाहक सवारी लैजान र मानिसको आवागमनसमेत बन्द भएका कारण सामग्री आयातमा कमी भई भन्सार शुल्कमा भारी गिरावट भएको भन्सार कर्मचारी बताउँछन् ।

कोरोनाकै कारण विगतमा आयात ठप्प भएपछि रोगको सावधानी अपनाउँदै नेपाल चीनबीचको समझदारी एवं सीमा क्षेत्रमा कार्यरत दुई देशका अधिकारीबीचको समन्वयबाट १५ कन्ट्रेनरलाई पुग्ने मात्र सामान आयात भइरहेको छ । शुरु शुरुमा पाँच÷सात डिब्बा मात्र सामग्री आउने गरेकामा भन्सार कार्यालयको पहलबाट अहिले १५ डिब्बासम्म सामान आयात हुने गरेको र थप वृद्धिका लागि पहल भइरहेको भन्सार प्रमुख रेग्मीले जानकारी दिए ।

क्वारेन्टिनमा राखिएका कामदार एवं चालकलाई रसुवागढी नाकामा प्रवेश गराउने कार्य भइरहेको र चिनियाँ मालबाहक सवारी साधनले रसुवागढीसम्म नै सामग्री ल्याउने गरेको भन्सार कार्यालयले जनाएको छ । निरन्तरको वर्षा भिरपहराको फेदमा रहेको कार्यस्थललाई कुनै प्रवाह नगरी भन्सार कर्मचारी, सुरक्षा अङ्ग समेतका राष्ट्रसेवक कर्मचारीका साथै सवारी चालक एवं कामदारले निरन्तर कार्य गरिरहेका स्थानीय बासिन्दाले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us