नेप्सेमा ४५ अंकको उच्च गिरावट

काठमाण्डु टुडे २०७८ असार २८ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, २८ असार– नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन झन्डै ७५ अंकले बढेको नेप्से साताको दोस्रो दिन सोमबार सुरुवाती कारोबार समय बढेको भए पनि अन्तिम समयमा आएर नेप्से घटेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने आज बढेको छ । नेप्से आज ४५ दशमलव ६ अंकले घटेर २८ सय ५४ दशमलव ७६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स आठ दशमलव ६२ अंकले घटेर पाँच सय ३४ दशमलव ८१ अंकमा पुगेको छ ।

दुई सय २९वटा कम्पनीहरुको ९२ हजार एक सय ९२ पटकको कारोबारमा दुई करोड ६० लाख २१ हजार एक सय चार कित्ता सेयर खरिद बिक्री हुँदा आज कुल कारोबार रकम नौ अर्ब ९८ करोड २६ हजार पाँच सय २७ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक सामान्य अंकले बढेर बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् ।

तीमध्ये वाणिज्य बैंक समूहको सूचक २२ दशमलव पाँच अंकले घटेर १९ सय ५० दशमलव सात अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ४० दशमलव ७१ अंकले घटेर १४ सय ३७ दशमलव १९ अंकमा झरेको छ ।

आज समृद्धि फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले बढेर चार सय ४२ रुपैयाँमा कारोबार हुँदा युनियन हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव ३३ प्रतिशतले घटेर तीन सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता १५ सय ९९ रुपैयाँ अन्तिम मूल्यमा ४७ करोड २६ लाख ५२ हजार नौ सय ५२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us