५ अंकले नेप्से घट्दा चार अर्ब २२ करोड रुपैयाँको मात्र सेयर किनबेच

काठमाण्डु टुडे २०७८ असार २२ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, २२ असार– साताको तेस्रो दिन नेप्से सूचक तथा कारोबार रकम दुवै नै खुम्चिएको छ । यसअघि लगातार घटेको नेप्से मंगलबार पनि पाँच दशमलव २४ अंकले घटेर २८ सय १८ दशमलव १० अंकमा खुम्चिएको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले घटेर पाँच सय २६ दशमलव ७५ अंकमा खुम्चिएको छ ।

नेप्सेमा आज दुई सय २० वटा कम्पनीहरुको ४६ हजार तीन सय १० पटकको कारोबारमा एक करोड एक लाख ३५ हजार दुई सय नौ कित्ता सेयर खरिद बिक्री भएकामा कुल कारोबार रकम चार अर्ब २२ करोड ४० लाख १८ हजार दुई सय ५५ रुपैयाँ पुगेको छ ।

१३वटा समूहको कारोबार भएकोमा आज पाँच वटा समूहको सूचक बढेर आठवटा समूहको सूचक घटेका छन् । तिमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ६७ अंकले बढेर १९ सय १३ दशमलव ३३ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ६६ दशमलव नौ अंकले बढेर १४ हजार ४० दशमलव सात अंकमा चढेको छ ।

यीबाहेक जीवन बिमा, उत्पादनमुलक र लघुुवित्त समूहको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने आज एक दशमलव ७२ अंकले घटेर चार हजार दुई सय ११ दशमलव २८ अंकमा झरेकोमा जलविद्युत, ट्रेडिङ, फाइनान्स, होटेल तथा पर्यटन, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

आज राष्ट्रिय बिमा कम्पनीको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ३१ प्रतिशतले बढेर २२ हजार ५२ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुँदा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव ५३ प्रतिशतले घटेर चार सय ४४ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता पाँच हजार छ सय ३६ रुपैयाँ अन्तिम मूल्यमा ३५ करोड ८७ लाख ३९ हजार तीन सय एक रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबारमध्ये सबैभन्दा बढी हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us