३८ अंकले नेप्से बढ्दा १९ अर्ब ५५ करोडको सेयर किनबेच

काठमाण्डु टुडे २०७८ जेठ ३० गते १६:३२ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– साताको पहिलो कारोबार दिन आइतबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ३८ दशमलव ३२ अंकले बढेर २९ सय ८३ दशमलव ११ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ५४ अंकले बढेर पाँच सय ३९ दशमलव ४२ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय २० कम्पनीको एक लाख ८२ हजार चार सय ३० पटकको कारोबारमा तीन करोड ७० लाख ७६ हजार चार सय ३९ कित्ता सेयर खरिद(बिक्री हुँदा कुल कारोबार रकम १९ अर्ब ५५ करोड एक लाख ६६ हजार छ सय ३६ रुपैयाँ पुगेको छ ।

आज १३ समूहको कारोबार भएकामा सातवटाको सूचक बढ्यो भने ६ वटा समूहको सूचक घटे । तीमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव आठ अंकले बढेर १९ सय ४४ दशमलव ७८ अंकमा पुग्दा जलविद्युत् समूहको सूचक पनि एक सय ८६ दशमलव तीन अंकले बढेर तीन हजार दुई सय ४१ दशमलव ३७ अंकमा पुगेको छ ।

यीबाहेक विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, उत्पादनमूलक र लगानी समूहरूको सूचक पनि बढेका छन् । निर्जीवन बिमा समूहको सूचक भने आज २२ दशमलव सात अंकले घटेर १५ हजार एक सय ७८ दशमलव ६५ अंकमा झरेकामा जीवन बिमा, ट्रेडिङ, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि घटेका छन् ।

आज श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय ५० रुपैयाँको कारोबार हुँदा नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार दशमलव १५ प्रतिशतले घटेर एक हजार ४० रुपैयाँको कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता पाँच सय ७४ रुपैयाँ अन्तिम मूल्यमा ७२ करोड २९ लाख ७६ हजार दुई सय ६७ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबारमध्ये सबैभन्दा बढी हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us