एमालेमा नाटकीय एकता

काठमाण्डु टुडे २०७८ जेठ २९ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– सत्तारुढ एमालेको माधव नेपाल पक्षले बागमति प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम पास गर्न सघाउने भएको छ ।

शनिबार बसेको प्रदेशसभा संसदीय दल बैठकमा माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले नीति तथा कार्यक्रममा प्रदेश सरकारलाई सघाउने नीति रहेको भन्दै एक ढिक्का भएर त्यसमा सहयोग गर्न सांसदहरुलाई निर्देशन दिइन् । प्रदेशसभामा एमाले एकढिक्का भए सजिलै नीति कार्यक्रम र बजेट पास हुन्छ ।

एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले नेतृ शाक्यले प्रदेश पेस गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएको जानकारी दिए । बागमति प्रदेशसभामा आज नीति तथा कार्यक्रम पारित गर्न निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसअघि प्रदेश–१ मा पनि एमालेले नीति कार्यक्रम एकमतले पारित गर्ने निर्णय गरिसकेको छ । प्रदेशमा नीति कार्यक्रममा सहमति भएसँगै त्यसको सकारात्मक असर एमालेको केन्द्रमा रहेको विवाद समाधानमा पर्ने पर्ने देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us