नेप्सेमा सामान्य अंकको गिरावट

काठमाण्डु टुडे २०७८ जेठ २७ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिन १३ दशमलव ५६ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने एक दशमलव आठ अंकले घटेर २९ सय ४४ दशमलव ७८ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स भने आज दुई दशमलव ५९ अंकले बढेर पाँच सय २७ दशमलव ८७ अंकमा चढेको छ । नेप्सेमा आज दुई सय २० वटा कम्पनीको एक लाख ५५ हजार ६ सय ९० पटकको कारोबारमा तीन करोड ६ लाख ६ हजार छ सय ४४ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम १६ अर्ब १० करोड चार लाख १२ हजार चार सय ३६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा सातवटा समूहको सूचक घटेर ६ वटा समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक १७ दशमलव ७८ अंकले घटेर १९ सय ३६ दशमलव ७० अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि ४५ दशमलव नौं अंकले घटेर १५ हजार दुई सय दशमलव १८ अंकमा झरेको छ ।

यसैगरी उत्पादनमूलक, जीवन बिमा, ट्रेडिङ, होटेल तथा पर्यटन र अन्य समूहको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने आज एक सय २० दशमलव छ अंकले बढेर चार हजार सात सय १४ दशममलव ४३ अंकमा चढेकामा जलविद्युत्, फाइनान्स, लघुवित्त, उत्पादनमूलक र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

आज पाँचथर पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ८५ रुपैयाँमा कारोबार हुँदा बोटर्लस नेपाल (तराई) लिमिटेडको प्रतिकित्ता सेयर मूल्य भने तीन दशमलव ९५ प्रतिशतले घटेर १० हजार पाँच सय ७० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको भने प्रतिकित्ता पाँच सय ८५ रुपैयाँ अन्तिम मूल्यमा ८३ करोड ९२ लाख नौ हजार दुई सय ४७ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबारमध्ये सबैभन्दा बढी हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us