राजेन्द महतोलाई भारतको बधाई !

काठमाण्डु टुडे २०७८ जेठ २२ गते १०:०५ मा प्रकाशित

काठमाण्डु, २२ जेठ– जनता समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री नियुक्त भएकामा भारतले बधाई दिएको छ ।

नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले शुक्रबार मन्त्री पदको सपथ लिएलगत्तै टेलिफोन गरी महतोलाई बधाई दिएका हुन् । महतोले वर्तमान कामचलाउ सरकारमा जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट नेतृत्व गरेका छन् ।

‘माननीय मन्त्रीज्यूलाई भारतीय राजदूतले टेलिफोन गरी बधाई दिनुभएको छ’, महतोका एक सहयोगीले भने । मन्त्री नियुक्त हुनुअघि महतो र जसपा अध्यक्ष महन्थ ठाकुरले राजदूत क्वात्रालाई लैनचौरस्थित दूतावासमा भेटेका थिए ।

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख समान्त गोयलको नेपाल भ्रमण र प्रधानमन्त्री केपी ओलीसँगको गोप्य भेटपछि परिवर्तन हुन थालेको नेपालको राजनीतिक परिदृश्यसँगै ओली र जसपाबीचको तिक्ततापूर्ण सम्बन्ध सुमधुर बन्दै आएको थियो ।

सरकारमा सहभागी नहुने र वैकल्पिक सरकार गठन प्रक्रियामा तटस्थ बस्ने पार्टीको घोषित नीतिविपरीत ठाकुर–महतो पक्षले ओलीसँग सत्ता सहकार्य गरेको हो । एउटा पक्ष सरकारमा सहभागी भएसँगै जसपा करिब विभाजनको संघारमा पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us