लुम्बिनीका चार सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०७८ जेठ ३ गते २०:५९ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका ४ सांसदलाई पदमुक्त नगर्न आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार चार सांसद पदमुक्त गर्ने लुम्बिनी प्रदेशका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । जसपाको उपेन्द्र–बाबुराम पक्षले पार्टी नीतिविपरीत मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्दै सरकारमा सहभागी भएको भन्दै पदमुक्त गर्न सिफारिस गरेको थियो ।

पार्टी बहुमतको सिफारिसमा जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई सभामुखले पदमुक्त गरेका थिए । उनीहरु चारै जनाले आफूहरुलाई पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चको फैसलामा सांसदहरुलाई निष्काशन गर्नुअघि पार्टी केन्द्रीय समितिले स्पष्टीकरको मौका नदिएकाले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे दुवै पक्षसँग छलफल गर्ने उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us