मदन भण्डारीको सपना पुरा गर्न माओवादीसँग एकताः ओली

काठमाण्डु टुडे २०७८ जेठ ३ गते ८:२५ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफू कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा रहेको बताएका छन् ।

२८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै ओलीले कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको बताए । मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने ओलीको भनाइ छ ।

.नेपाल राष्ट्र तथा नेपाली जनताका लागि मदन भण्डारीले गरेका योगदान दूरगामी महत्वका साथै अतुलनीय रहेको स्मरण ओलीले गरेका छन् । नेकपा माओवादी केन्द्रसँगको एकता मदन भण्डारीले देखेको एकीकृत कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने प्रयास भएको ओलीले बताए । कतिपय नेताहरुका विभाजनकारी एवं अस्थिर र अवसरवादी सोचका कारण उक्त उद्देश्य सफल हुन नसकेको ओलीको भनाइ छ ।

ओलीले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्दै राष्ट्रियताको सम्वर्द्धन र राष्ट्रिय हित रक्षाका लागि अविचलित रुपमा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको सम्झनामा एमालेले हरेक वर्ष जेठ ३ गते मदन–आश्रित दिवस मनाउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us