ओलीको ‘त्यो पर्दैन’ प्रकरण सर्वोच्च पुग्यो

काठमाण्डु टुडे २०७८ जेठ २ गते २१:१३ मा प्रकाशित

काठमाण्डु, २ जेठ– प्रधानमन्त्री केपी ओलीको सपथग्रहण बदरको माग गर्दै कानून व्यवसायीहरु अदालत पुगेका छन् ।

सपथको व्यहोरामा उल्लेख ‘प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश उच्चारण नगरेकाले ओलीको सपथ बदरको माग गर्दै कानून व्यवसायीले सर्वोच्च अदालतमा रिट दर्ताको प्रयास गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट तेश्रोपटक प्रधानमन्त्रीको सपथ लिने क्रममा शुक्रबार ओलीले उक्त शब्द उच्चारण गर्न मानेका थिएनन् ।

सपथका क्रममा राष्ट्रपतिले दुईपटकसम्म ‘प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश दोहो¥याएकी थिइन् । तर, ओलीले ‘त्यो पर्दैन’ भन्दै उक्त वाक्यांश उच्चारण गर्न इन्कार गरे । ओलीले ‘त्यो पर्दैन’ भनेपछि राष्ट्रपति भण्डारी हि..हि.. गरेर हाँसेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सपथमा राष्ट्रपतिले दुईपटकसम्म उच्चारण गरेको शब्द ‘त्यो पर्दैन’ भनी प्रधानमन्त्रीले राष्ट्रपति र राष्ट्रपति संस्थाले मानमर्दन गरेको भन्दै बदर माग गरी वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ताहरु लोकेन्द्र ओली र केशरजंग केसीले सर्वोच्चमा रिट दर्ताको प्रयास गरेका हुन् ।

‘राष्ट्रपतिले सपथको ढाँचाबमोजिम सपथको वाक्यांश जे जस्तो पढ्नु हुन्छ सोही बमोजिम नै प्रधानमन्त्रीले सपथग्रहण गर्नुपर्ने हुन्छ’, रिटमा भनिएको छ, ‘सपथको ढाँचालाई तलमाथि फेरबदल गर्न पाइँदैन । यदि यसो भयो भने संविधान, संविधानवाद, जनताप्रतिको सार्वभौमसत्ता र राष्ट्रप्रतिको निष्ठामाथि नै मानमर्दन हुन पुग्दछ ।’

रिटमा अर्को सपथ नलिएसम्म प्रधानमन्त्रीका रुपमा कामकाज गर्न नदिन माग गरिएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us