संसद बैठकअघि सांसदहरुको पीसीआर परीक्षण

काठमाण्डु टुडे २०७८ वैशाख २२ गते ११:३० मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– संसदको विशेष अधिवेशन सुरु हुनुअघि आज सभामुख अग्निप्रसाद सापकोटासहित सांसदहरु र सचिवालयका सबै कर्मचारीहरूको कोरोना परीक्षण गरिँदै छ । ल्होत्से हलमा आज सभामुखसँगै राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको पनि आजै पीसीआर परीक्षण गरिने भएको हो । वैशाख २७ गतेका लागि आह्वोन गरिएको अधिवेशनमा सहभागी हुने सबैले पीसीआर जाँच अनिवार्य गरिनुपर्ने भएको हो । बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्नेछ ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ पदमुक्त भएपछि), जसपाको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १(१ सिट छ । कांग्रेसका दुई र जसपाको दुई सांसद निलम्बित छन् ।

प्रतिनिधिसभामा अहिले रहेका २६७ सांसदका आधारमा सरकारका लागि १३४ चाहिन्छ । कांग्रेसको ६१, माओवादीको छक्कबहादुर लामासहित ५० र यादव समूहका १७ सहित ओलीइतर गठबन्धनसँग १२८ सांसद मात्रै हुन्छ । साना दलका सांसदलाई ओली वा ओलीइतरका गठबन्धनले आफ्नो पक्षमा ल्याए पनि कसैको पनि बहुमत पुग्दैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us