शंकर पोखरेलले भनेः मलाई मुख्यमन्त्री हुन नदिन नाटक मञ्चन भयो

काठमाण्डु टुडे २०७८ वैशाख १९ गते २२:१३ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई अल्पमतमा पार्न नाटकीय रुपमा अराजनीतिक घटनाक्रम सतहमा आएको टिप्पणी गरेका छन् ।

आइतबार साँझ पुनः मुख्यमन्त्रीको सपथ लिएपछि पोखरेलले आफूलाई अल्पमतमा पार्न अराजनीतिक नाटक मञ्चन भएको बताए । पोखरेलले जसपाको अल्मपत पक्षले आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदमाथि कारबाही गरेर नाटक मञ्चन गरिएको आरोप लगाए ।
जसपाको संसदीय दलको बहुमतको समर्थन प्राप्त गरेपछि संयुक्त सरकार गठनको तयारी भए पनि अल्पमतमा रहेकाहरूले कारबाहीको नाटक मञ्चन गरेको र सरकारलाई असफल देखाउने कोसिस भएको उनको भनाइ थियो ।
जसपा सांसदमाथिको कारबाहीपछि राजीनामा दिएर एमालेको एकल बहुमतीय सरकार बनाउने प्रयासमा पनि अराजनीतिक तवरले बाधा हाल्न खोजिएको बताए ।
एमालेको बहुमत रहेको र बहुमत भएकै आधारमा प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी प्रस्तुत गरिएको उनले उल्लेख गरे । प्रदेश प्रमुखले आफूलाई मुख्यमन्त्रीमा चयन गरिसकेपछि अराजनीकि गतिविधि भएको बताए ।

आगामी घटनाक्रम अस्वाभाविक हुने भन्दै उनले सामना गर्ने उल्लेख गरे । आफ्नो सरकारले पूर्ण स्थायित्व प्राप्त गर्ने दाबी पोखरेलले गरे । अस्वस्थ, अमर्यादित र अराजनीतिक घटनाक्रमबारे छानबिन गरिने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us