विप्लवको पार्टी फुट्यो

काठमाण्डु टुडे २०७८ वैशाख १८ गते १०:१७ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख– सरकारसँग हालै मात्र तीन बुँदे सहमति गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको छ ।

पोलिट्ब्युरो सदस्य कृष्णप्रसाद धमलाको नेतृत्वमा सो पार्टी विभाजित भएको हो । धमलाले शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले क्रान्तिका नाममा नेपाली जनतालाई धोका दिएकाले आफूहरु अलग भएको बताएका हुन् । धमलाको नेतृत्वमा नयाँ गठन भएको पार्टीको नाम जनसमाजवादी मञ्च, नेपाल राखिएको छ ।

‘नेपाली कम्युनिष्ट आन्दोलनको मूल समस्याका रूपमा सतहमा सामन्तवाद नै हाबी रहेको कुरा यतिबेला फेरि पनि स्पष्ट गर्न चाहन्छौं । आन्दोलनले नेतृत्वलाई उचाइमा पु¥याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिकाविरुद्ध भीषण संघर्षको आँधिबेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भइसकेको छ । तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जन सम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा मञ्चको आगामी कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख छ ।

अनेकौं सौर्य, साहस, बलिदानका कीर्तिमानी खडा गर्दै यहाँसम्मको यात्रा तय गरेको भएता पनि कम्युनिष्ट आन्दोलन भित्रबाट नै श्रृजनात्मक विकासको नाममा कहिले दायाँ अति त कहिले बायाँ अति तर्फ ढल्केर दक्षिणपन्थी संशोधनवादी र उग्रवामपन्थी प्रभावबाट आन्दोलन मुक्त हुन नसकेको र जसको फलस्वरूप नेपाली कम्युनिष्ट आन्दोलनले निश्चित लक्ष्यसम्म पुग्न नसकेको विज्ञप्तिमा छ ।

आफ्नो पार्टीले जुझारु तथा सामन्तवाद, साम्राज्यवाद र संशोधनवादी विरोधी एवं देशभक्त, प्रगतिशिल, जनवादी, लोकतान्त्रिक गणतन्त्रवादी शक्ति, समूहहरू तथा जातिय, क्षेत्रीय, लैंगिक, दलित, मधिसे, महिला, सीमान्तकृत उत्पीडित समुदाय र भाषिक, सांस्कृतिक उत्पीडनमा परेका समूहहरू लगायत समग्रमा बर्गिय उत्पीडनको साथ र सहयोगमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न श्री कृष्णप्रसाद धमला हिमाल, पहाड, तराइ मधेश सबैको प्रतिनिधित्व गर्ने दाबी विज्ञप्तिमा गरिएको छ । धमलाको संयोजत्वमा ५१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टी घोषणा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us