टी–२० सिरिजमा कुशलको चौथो अर्धशतक

काठमाण्डु टुडे २०७८ वैशाख ११ गते १५:२९ मा प्रकाशित

काठमाण्डु, ११ बैशाख– नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत अहिले भइरहेको नेदरल्याण्ड्सविरुद्धको फाइनलमा भुर्तेलले अर्धशतक बनाएपछि उनको अर्धशतक संख्या चार पुगेको हो ।

१३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । नेपालका लागि उनी सर्वाधिक अर्धशतक प्रहार पारस खड्कासँगै शीर्ष स्थानमा छन् । पारसले १ शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।

यही सिरिजमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका उनले एउटै सिरिजमा चार अर्धशतक प्रहार गरेका हुन् । यसअघि उद्घाटन खेलमै नेदरल्याण्ड्सविरुद्ध ६२ रन प्रहार गरेका उनले दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ रन बनाएका थिए ।

त्यसपछि नेदरल्याण्ड्सविरुद्धको खेलमा उनले ६२ रन नै बनाए भने लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध १६ रन बनाएर आउट भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us