तलमाथि गर्दा गर्दै ओरालो लाग्यो नेप्से

काठमाण्डु टुडे २०७७ चैत २ गते १९:२२ मा प्रकाशित

काठमाण्डु, २ चैत– साताको दोश्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक १८.०७ अंक घटेर २ हजार ३ सय ८९.१९ बिन्दुमा झरेको छ ।

अघिल्लो कारोबार दिन ५१.२३ अंकले घटेर २ हजार ४ सय ७.२६ बिन्दुमा बन्द भएको नेप्से सोमबार पटकपटक उकालो लाग्ने प्रयास गर्दै झर्दै गरेको हो ।

नेप्से कारोबार अवधिभर २ हजार ४ सयको बिन्दुमा रहने प्रयासमा थियो । तर, अन्तिममा बजार फेरि घट्यो । सोमबार ठूला कम्पनीको सेन्सेटिभ इण्डेक्स पनि ५.०७ अंकले घटेर ४ सय ३०.०५ बिन्दुमा झरेको छ । कुल २ सय १२ कम्पनीको ५२ हजार ३ सय ९ पटकको कारोबारमा ४ अर्ब २४ करोड ८४ लाख रुपैयाँ २४ हजार रुपैयाँ बराबरका ९६ लाख ४ हजार कित्ता शेयर खरिद बिक्री भए । समग्रमा नेप्से ओरालो लागे पनि पाँच उपसमूहको परिसूचक भने बढेको हो ।

होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशत बढेको छ । यस्तै व्यापार उपसमूहको परिसूचक १.४८ प्रतिशत, लगानी उपसमूहको ०.५७ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ०.१९ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.०२ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सबैभन्दा अगाडि छ । बजार ओराला लाग्दा पनि सोमबार तीन कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो । १२ दिनयता लगातार उकालो लाग्दै आएको चन्द्रागिरी हिल्सको शेयर सोमबार पनि सर्किट लेभलमा कारोबार भएको छ ।
यस्तै घलेम्दी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us