काठमाण्डु, १ चैत– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा भारी गिरावट आएको छ ।
आक्ष्इतबार एकै दिन नेप्से परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्से सूचक ५१.२३ अंकले घटेर २ हजार ४ सय ७.२५ विन्दुमा झरेको छ ।
सेन्सेटिभ सूचक पनि १०.१० अंकले घटेर ४३२.१३ विन्दुमा ओर्लिएको छ । यद्यपि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । बजारमा बुधबार ४ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएको थियो । आइतबार कारोबार रकम झण्डै ५ अर्बको हाराहारीमा पुगेको छ । २ सय ११ वटा कम्पनीको ९९ लाख ३ हजार ४०४ कित्ता शेयर ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
आइतबार कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर र होटल एण्ड टुरिजम उपसमूहको शेयर मात्र उकालो लागेको छ । हाइड्रोपावर उपसूचक २.३२ प्रतिशतले उकालो लागेको छ । होटल एण्ड टुरिजम उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ। आइतबार पाँच कम्पानीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए ।
चन्द्रागिरि हिल्स, अपर तामाकोसी, पञ्चकन्यामाई हाइड्रोपावर, घलेम्दि हाइड्रोपावर र रैराङ हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । हिमालयन पावर पार्टनरको शेयरमूल्यमा भने सर्वाधिक ९.८६ प्रतिशतले गिरावट आएको छ ।
अपर तामाकोसीको सबैभन्दा धेरै ४४ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।