
काठमाण्डु, २४ फागुन– उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसा अन्त्य नभएसम्म सभ्य समाज निर्माण असम्भव रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बर समितिद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजलाई सभ्य र सुरक्षित बनाउन महिला हिंसाको अन्त्य हुनैपर्ने बताए ।
उपराष्ट्रपति पुनले महिला हिंसाका घटनाले २१औं शताब्दीको सभ्य समाजलाई गिज्याइरहेको र बालिकाहरुको बलात्कारपछि हत्याका घटना बढिरहेको बताए । मानिसको चेतनाको कमीका कारण वा दोषीको पहिचान र उचित कनूनी कारबाही हुन नसक्दा यस्ता घटना घटिरहने हुँदा सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।
महिला हिंसा रहेसम्म विद्यालय गएका छोरीहरु, कार्यस्थलबाट फर्किरहेका दिदीबहिनी वा घरभित्र रहेका महिला कुटपिट तथा हिंसामा परिरहने उनको भनाइ थियो । विगतको तुलनामा राज्यका सबै निकायमा महिला सहभागिता वृद्धि भए पनि त्यसप्रति गर्व गरेर मात्र बस्न नहुने उपराष्ट्रपतिले उल्लेख गरे ।