काठमाण्डु, १७ फागुन–केही दिनयता लगातार ओरालो लागेको शेयर बजार मापक नेप्से परिसूचक सोमबार भने हरियाली देखियो ।
सोमबार कारोबारमा आएका शतप्रतिशत १३ वटै उपसमूहमा हरियाली छायो । नेप्से परिसूचक ४०.६४ अंक बढेर २५१५.०३ विन्दुमा पुगेको छ । सोमबार क बर्गका कम्पनीको सेन्सेटिभ इण्डेक्स ६.४७ अंकले बढेको छ । नेप्से माथि गए पनि कारोबार रकममा भने कमी आएको छ । २०९ कम्पनीको ७० हजार ३ सय ३९ पटकको कारोबारमा ५ अर्ब ६९ करोड २३ लाख रुपैयाँ बराबरका १ करोड १८ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.३२ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन, वित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा माथि बढेको छ ।
बैंकिङ्ग, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले माथि गएको छ ।
कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक सबैभन्दा अगाडि छ । उक्त बैंकको ४४ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । यस्तै चन्द्रगिरी हिल्सको शेयरमा यसअघि झैं सकारात्मक सर्किट लागेको छ । चन्द्रगिरीको शेयरमा प्रतिकित्ता ४१ रुपैयाँ बढेर ४ सय ५५ रुपैयाँमा कारोबार भयो ।