बालुवाटारको निस्कर्षः अदालतको फैसला विवादित, प्रधानमन्त्रीबाट राजीनामा नदिने अडान

काठमाण्डु टुडे २०७७ फागुन ११ गते २२:५७ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा राजीनामा नदिने भएका छन् ।

आफूले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेपछि ओलीमाथि नैतिकताका आधारमा राजीनामा दिन दबाब बढेको छ । तर, ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् । थापाले ओलीले प्रतिनिधिसभाको सामना गर्ने उल्लेख गरे ।

थापाले अदालतले गरेको संसद पुर्नस्थापनाको फैसलालाई विवादितको संज्ञा दिए । यद्यपि फैसला स्वीकार गर्ने बताए । सर्वोच्चको फैसलाका दुस्प्रभावहरु भ्विष्यमा देखिँदै जाने भन्दै थापाले यसले राजनीतिक समस्याको समाधान नगर्ने दाबी गरेका छन् ।

थापाले मुलुकमा अस्थिरता र सत्ताको खेल बढ्ने बताए ।

‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us