काठमाण्डु, ११ फागुन– संकटकाल लाग्ने हल्लाका भरमा शेयर बजार ओरालो लागेको छ ।
पछिल्लो समय राजनीतिक अस्थिरताका बीच हरेक दिनजसो नयाा रेकर्ड कायम गर्दै गएको शेयर बजारमा मंगलबार पहिरो गएको छ । बजार खुलेको केही मिनेटमै कतिपय कम्पनीमा नकारात्मक सर्किट हानेको थियो । सबैभन्दा धेरै बजार नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को घटेको छ । निफ्राको शेयर पछिल्लो एक साता हरेक दिन १० प्रतिशतले बढ्दै आएको थियो । बैंकको शेयर मूल्य ६६ रुपैयाँले घटेर ५ सय ९४ रुपैयाँमा कारोबार भएको छ ।
समग्रमा मंगलबार शेयर बजार मापक नेप्से २१ अंकले घटेर २५८६.५१ बिन्दुमा झरेको छ। बजारले पटकपटक पुरानो लय समात्न खोजे पनि संकटकालको त्रासमा बिक्री गर्न चाहने लगानीकर्ताको चाप बढेकाले बजारले लय समात्न सकेन । मंगलबार क बर्गका कम्पनीहरुको सेन्सेटिभ इण्डेक्स पनि २.४१ अंक घटेर ४६७.९४ विन्दुमा झरेको छ । नेप्से ओरालो लोग पनि कारोबार रकममा भने खासै कमी भएन । २०५ कम्पनीका ८३ हजार ३ सय ५७ पटकको कारोबारमा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ७७ लाख १४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।
नेप्से ओरोला लागे पनि तीन कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, अपी पावर र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किटको तहमा कारोबार भयो ।
कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक नकारात्मक रह्यो । ती उपसमूहको सूचक २.३३ प्रतिशतले आरालो लागेको छ । एक मात्र व्यापार उपसमूहको परिसूचक भने ०.९ प्रतिशतले बढेको छ ।