
बैतडी, ७ फागुन– कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले कुनै अपराधको राजनीतिकरण गर्न नहुने बताएका छन् ।
प्रेस युनियन बैतडीले बिहीबार पाटनमा गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका साउदले भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रो छानबिन हुनुपर्ने बताए ।
‘नेपाली कांग्रेस कुनै पनि अपराधको राजनीतिकरण गर्न चाहन्न’, साउदले भने, ‘तर कसैले पनि अपराधलाई राजनीतिकरण गरेर उन्मुक्ति गर्ने प्रयास गर्नुहुन्न ।’ उनले पक्राउ परेका दिनेश भट्टबारे गहिरो अनुसन्धान गर्न आग्रह गरे । दोषी भए उन्मुक्ति नदिन र निर्दोष भए दण्डको भागिदार नबनाउन साउदले माग गरे ।
साउदले भागरथी हत्या प्रकरण निर्मला पन्तकैजस्तो नहोस् भन्नेमा काँग्रेस रहेको बताए । ‘दोषी मान्छे नउम्कियोस्, निर्दोषले जेल जान नपरोस्, यतातिर सजग कदम चालियोस्’, साउदले भने ।