
काठमाण्डु, ४ फागुन– पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।
नेपाल आयल निगमले सातामै दुईपटक पेट्रोलियमको मूल्य बढाएको हो । यसअघि २८ माघमा मात्र निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।
मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य बढाइएको निगमले जनाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा दुई÷दुई रुपैयाँका दरले मूल्य बढेको छ ।
नयाँ दरअनुसार पेट्रोलको मूल्य अब प्रतिलिटरको १ सय १४ रुपैयाँ पर्नेछ । यस्तै डिजेल र मट्टितेलको मूल्य समान ९७ रुपैयाँ कायम गरिएको निगम प्रवक्ता बिनितमणि उापाध्यायले जानकारी दिए । स्वचालित मूल्य प्रणालीका आधारमा भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य वृद्धि भएको निगमको भनाइ छ ।
मूल्य वृद्धि गर्दासमेत पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमको भनाइ छ ।