
काठमाण्डु, ३ फागुन– प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रैबाट समानान्तर सत्ता चलाउन खोजिएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताएका छन् ।
पार्टीका केही नेताहरुले तीन वर्षसम्म सरकारलाई असहयोग गरेको र समानान्तर सत्ताको अभ्यास गरेको आरोप उनले लगाए । केही नेताको महत्वाकांक्षाको बाछिटा संसदमा नपरोस् भन्नका लागि संसद विघटन गरेको दाबी उनको थियो । ओलीले एकल सरकार चलाए पनि आफूले गठबन्धन सरकार चलाएजस्तो महसुस गर्नुपरेको उल्लेख गरे ।
‘सरकार गठनको सुरुदेखि नै असहज महसुस गरेको थिएँ, एक वर्षदेखि गठबन्धन सरकार चलाएजस्तो भयो’, सरकार गठन भएको तीन वर्ष पुगेका दिन सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्दै ओलीले भने, ‘केही नेताहरुको महत्वाकांक्षाको शिकार नहोस् भनेर प्रतिनिधिसभा विकटन गरें ।’
आफूले संसद विघटन नगरेको भए प्रतिनिधिसभाले सरकारको विकल्प दिन नसक्ने र नेकपा विभाजन हुने भएकाले रोक्न प्रतिनिधिसभा भंग गरेको उनको भनाइ थियो ।