
काठमाण्डु, २ फागुन– सर्वोच्च अदालतलको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि जवाफी बहस सुरु हुँदैछ ।
विपक्षीका तर्फबाट प्रधानमन्त्री केपी ओलीका वकिलहरुको बहस बिहीबार सकिएको थियो । सरकारी र प्रधानमन्त्रीका निजी वकिलले बहसका क्रममा गरेका तर्कको जवाफ रिट निवेदकतर्फका वकिलले जवाफी बहसका क्रममा दिनेछन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजको इजलासमा निवेदकतर्फबाट जम्मा पाँच जनालाई मात्र बोल्न दिने निर्णय गरेका छन् । विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल, शेरबहादुर केसी र मेघराज पोखरेल सहभागी हुने तयारी छ ।
जवाफी बहस सकिएपछि एमिकस क्युरीले आफ्नो राय दिनेछ । अदालतले आफ्नो सहयोगका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएनबाट एमिकस क्युरी मागेको थियो । एमिकस क्युरीमा नेपाल बारका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बारबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् ।
संवैधानिक इजलासमा उक्त रिटमाथि गत १२ माघयता नियमित सुनुवाई हुँदै आएको छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने घोषणा गरेपछि त्यसविरुद्ध १३ वटा फरक–फरक रिट दायर भएका थिए ।
श्रोतका अनुसार संसद विघटनको मुद्दामा छिटो फैसला दिन प्रधानन्यायाधीश चोलेन्द्रमशशेर राणा हतारिएका छन् । उनले ढिलोमा फागुन दोश्रो सातातिर अन्तिम फैसला सुनाउने तयारी गरेका छन् ।