सेयर बजारमा उच्च रेकर्ड कायम

काठमाण्डु टुडे २०७७ माघ २० गते १८:१० मा प्रकाशित

काठमाण्डु, २० माघ– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा उछाल देखिएको छ ।

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६५. ४९ अंकले वृद्धि भएर २ हजार ४ सय ७३. ७३ विन्दुमा पुगेको छ । यो हालसम्मकै ऐतिहासिक रेकर्ड हो । गत साता अन्तिम कारोबार दिन बिहीबार र यो साताको पहिलो दिन आइतबार नेप्सेमा करेक्सन देखिएको थियो ।

तर, सोमबार र मंगलबार उच्च अंकले वृद्धि भएको छ । यसअघि सोमबार नेप्से ३७ अंकले बढेको थियो । मंगलबार नेपाल स्टक एक्स्चेन्जमा कारोबारमा दर्ता भएका होटल उपसमूहबाहेक सबै समूहको सूचक सकारात्मक देखियो । मंगलबार युनाइटेड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै जनउत्थान समुदायिक लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको समान ९.९८ प्रतिशत, गुँरास लाईफ इन्स्योरेन्सको ९.९५ प्रतिशतले बढेको छ । मंगलबार कारोबार रकम पनि ८ अर्ब नाघेको छ । दुई सय कम्पनीको १ करोड ४७ लाख, ३३ हजार १४७ कित्ता शेयर ८ अर्ब ३१ करोड ८० लाख ३९ हजार ४०७ रुपैयाँमा खरिद बिक्री भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us