दाङ, १२ माघ– विरोधी र सार्वजनिक सञ्चार माध्यमको हुर्मत लिँदै आएका प्रधानमन्त्री केपी ओलीले आफ्ना पूर्वसहभागीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सिङ ‘फुक्लेको तिल्के गोरुको संज्ञा दिएका छन् ।
दाङको राप्ती नदीमा निर्मित पुल उदघाटन गर्न गएका ओलीले प्रचण्ड र नेपाललाई उडान तिल्के गोरुको कथा हाले । प्रचण्ड र नेपाल दुवैको सिङ फुक्लिइसकेको ओलीको भनाइ थियो । ‘एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने, झम्टी हाल्ने, सिंगौरी खेल्ने । भुइँ खोस्रिने, हुक्का गर्ने, अनि, त्यसको फ्वाँ फूँ देखेर अरु डराउने । एक दिन अलिक नटेर्ने खालको बहर गोरु परेछ । घड्याप्प जुधेको । बुढो तिल्के गोरुको सिङ भाँचिदियो ।
तिल्केलाई रिस त उठ्यो होला, सिङ भाँचिएकोमा । तर, जुध्न सकेन’, ओलीले भने, ‘यी तिल्केहरु (माधव–प्रचण्ड) पनि त्यस्तै हुन् । यिनले फुक्लिएको सिङ लिएर फ्याँ फुँ गर्दैगर्छन्, तर, सिंङ फुक्लिसकेकाले अब धाक नलगाए हुन्छ ।’
ओलीले प्रचण्ड–नेपालसँग अशान्ति मच्चाउन सक्ने क्षमता नरहेको र उनीहरुले केही पनि गर्न नसक्ने जिकिर गरे । ‘यिनीहरुसँग अब अशान्ति मच्चाउने क्षमता छैन । जनता सचेत भइसकेका छन्’ उनले भने ओलीले धाकधक्कु नलगाउन, तिघ्रा नठटाउन र खुट्टा भ्याटभ्याट नगर्न प्रचण्ड–नेपाललाई चेतावनी दिए ।