‘ओलीले मलाई र प्रचण्डलाई पक्राउ गर्न खोजे’

काठमाण्डु टुडे २०७७ माघ ७ गते ११:२४ मा प्रकाशित

काठमाण्डु, ७ माघ– नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफू र पुष्पकमल दाहाल प्रचण्डलाई पक्रेर थुन्न खोजेको दाबी गरेका छन् ।

नेकपाको प्रचण्ड–नेपाल पक्षले बुधबार आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा नेपालले ओली निरंकुश र अलोकतान्त्रिक मान्छे भएको आरोप लगाए । ओली बदलाको भावनाबाट चल्ने व्यक्ति भएको नेपालको भनाइ छ । अध्यक्ष नेपालले आलोचना गर्नेविरुद्ध ओलीले अरिंगाल र साइवर सेना चलाउँने गरेको भन्दै ओली पीडित सबै एक भएर उनीविरुद्ध लड्नुपर्नेमा जोड दिए ।

ओलीले नेतृत्व गरेका दिनदेखि नेकपा एमालेको ओरालो यात्रा सुरु भएको दाबी पनि गरे । ओलीको एकाधिकार र अपारदर्शी चरित्रका कारण पार्टी ओरालो लागेको आरोप उनको छ । नेपालले ओली र आफूलाई उस्तै भएको तुलना गर्दा दुःख लाग्ने उल्लेख गरे ।

‘सबै उस्तै हुन भन्दा मलाई घोच्ने र पोल्ने गर्छ’ नेपालले भने । प्रधानमन्त्री ओलीको कदम संविधान र गणतन्त्रकै विरुद्धमा रहेकाले आफूहरु चुप लागेर बस्न नसक्ने नेपालले बताए । तत्कालीन एमालेमा गणतन्त्रमा जाने लाइन पारित गर्ने र १२ बुँदे सहमतिको यात्रा तय गर्न आफूले भूमिका खेलेकाले गणतन्त्रप्रति माया रहेको नेपालको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us