
काठमाण्डु, ५ माघ– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जान सक्ने चेतावनी दिएका छन् ।
प्रचण्डले हरेक दिन आन्दोलन सशक्त हुँदै जाने भन्दै त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । ‘केपी ओलीले संसदको मात्र होइन, संघीय गणतन्त्र र संविधान नै विघटन गरेका छन्’, आफू सम्वद्ध महिला संगठन अखिल नेपाल महिला संघको केन्द्रीय समिति बैठकलाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘हामी माघ १६ गतेपछि आमहड्तालम्म जानुपर्ने हुनसक्छ, तपाईंहरु तयार रहनुहोला ।’
ओली पहिल्यैदेखि प्रतिगामी रहेको भन्दै उनले सच्चिएको भ्रममा परेर विश्वास गर्नु आफूहरुको पनि गल्ती भएको टिप्पणी गरे ।