
काठमाण्डु, ४ माघ– निर्वाचन आयोगले निर्वाचनबारे छलफलका लागि सर्वदलीय छलफल आयोजना गरेको छ ।
आयोगले छलफलका लागि नेकपाको माधव–प्रचण्ड र ओली समूह, नेपाली काँग्रेस, जनता समाजवादी, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा माले र विवेकशील साझा लगायत दलका नेतालाई बोलाएको हो । आयोगले हरेक दलबाट दुई जनाका दरले प्रतिनिधि पठाउन भन्दै पत्राचार गरेको छ । आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदाता नामावली, मतदान केन्द्र, सुरक्षा लगायत विषयमा छलफल गर्न दलका प्रतिनिधिलाई बोलाइएको बताए ।
प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गर्दै आगामी १७ वैशाखमा पहिलो चरण र २७ वैशाखमा दोश्रो चरणको निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । काँग्रेसले अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसलाका आधारमा निर्वाचनमा जाने वा नजानेबारे निर्णय गर्ने बताउँदै आएको छ ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपा भने प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र प्रतिगामी भन्दै त्यसको जगमा हुने निर्वाचनमा सहभागी नहुने अडानमा छ ।